जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैं कार्यालय आई तिर्नुपर्ने कर नबुझएको कार्यालयबाट जानकरी प्राप्त भएको छ ।
सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिककर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ ।
यसैगरी, पटकपटक ताकेता गर्दासम्म राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा १० करोडभन्दा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकरी दिए ।
लामो समयदेखि नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन् ।
कार्यालयबाट उपलब्ध तथ्यांक विवरणमा सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलनमा वृद्धि भएको जनाएको छ । प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष ३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ३ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको थियो ।
त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष सो कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरबापत १ अर्ब ४५ करोड ४७ लाख, घरभाडाबापत ६ करोड ३५ लाख ६६ हजार, ब्याजकरबापत ११ करोड ११ लाख २२ हजार, मूल्यअभिवृद्धिकरबापत १ अर्ब ३० करोड १५ लाख ५५ हजार, अन्तशुल्कबापत १ अर्ब ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्यकरबापत ११ लाख ३ हजार र शिक्षाकरबापत ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो ।
प्राप्त विवरणमा गत आव ०८०/८१ मा आयकरबापत १ अर्ब १९ करोड ३८ लाख ७१ हजार, घरभाडाबापत ३ करोड ५० लाख २२ हजार, ब्याजकरबापत ७ करोड २० लाख ७४ हजार, मूल्यअभिवृद्धिकरबापत ९७ करोड ७८ लाख ६२ लाख, अन्तशुल्ककरबापत १ अर्ब ५४ करोड ६६ लाख २१ हजार, स्वास्थ्यकरबापत १५ लाख ३१ हजार, शिक्षाकरबापत १ लाख ६८ हजार तथा अन्यकरबापत १२ लाख २६ हजार गरी कुल ३ अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व संकलन भएको थियो ।