काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेको सहमतिबारे कार्यदलले बुझाएको प्रतिवेदन बुधबार बुझेपछि प्रधानमन्त्री ओलीले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताए ।
विधिको शासनभन्दा पर जान नसक्ने पनि उनले बताए । उनले अहिले लोकतान्त्रिक बाटो खुला रहेको पनि बताए । लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ छ ।
‘नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् त्यसमा हामी सजग छौँ, कुनै पनि प्रकारको द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन, यस्ता कुरा देश हितमा हुँदैनन्, हामी विधिको शासनभन्दा पर जान सक्दैनौं,’ उनले भने ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताए । संघीयताको प्रभावकारी कार्यान्वयन गर्न कमी कमजोरी हटाइने उनले बताए ।