
फाइल फाेटाे
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर आंशिकदेखि साधरणतया बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।