धनगढीको आन्तरिक आयमा लगातार वृद्धि, ५ वर्षमै दोब्बर

<p>कैलाली । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्यांकअनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएर दोब्बरभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । उनका अनुसार उपमहानगरले आव [&hellip;]</p>

कैलाली । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्यांकअनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएर दोब्बरभन्दा माथि पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । उनका अनुसार उपमहानगरले आव २०७६/७७ मा १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेको थियो ।

त्यसपछि आव २०७७/७८ मा २० करोड ६० हजार, आव २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार, आव २०७९/८० मा २७ करोड ९२ लाख १५ हजार र गत आव २०८०/८१ मा ३३ करोड १२ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

राजस्व शाखा प्रमुख ओझाले भने, ‘हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ । करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो ।’

उपमहानगरले गत आर्थिक वर्षमा सम्पत्ति करबाट तीन करोड ४४ लाख २९ हजार, भूमिकर एक करोड पाँच लाख ४५ हजार, बहालकर सात करोड ५५ लाख ८१ हजार, बहाल बिरौटीकर ४५ लाख १२ हजार, सवारीसाधन कर ६ लाख ४० हजार र अन्य करबाट पाँच लाख ४९ हजार आम्दानी गरेको उनले जानकारी दिए ।

राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार, सरकारी सम्पत्ति बिक्रीबाट ६७ हजार, अन्य सेवा शुल्कबाट ३८ लाख ७७ हजार, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट तीन करोड नौ लाख ६९ हजार, सिफारिस दस्तुरबाट एक करोड ९२ लाख ७१ हजार रुपैयाँ आम्दानी भएको छ ।

व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार, नाता प्रमाणित दस्तुर चार लाख ८७ हजार, अन्य दस्तुरबाट नौ लाख ३६ हजार, प्रशासनिक दण्ड/जरिवानाबाट ७४ लाख २९ हजार, व्यवसायबाट तीन करोड ९८ लाख ५६ हजार, अन्य राजस्व सात करोड ९२ लाख ३४ हजार, बेरुजुबापत ६ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको छ ।

त्यस्तै, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार, विज्ञापन करबाट पाँच हजार र अन्यबाट ९ लाख १३ हजार आम्दानी भएको ओझाले जानकारी दिए ।

Share News