काठमाडौं । जुसको बट्टामा लुकाएर ल्याइएको १ किलो १०० ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् ।
उनीहरूलाई बिहीबार लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको हो ।
अन्सारीलाई असार १ गते काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागुऔषध कोकिनका ६२ वटा क्यासुल लुकाइ छिपाइ गरी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनको साथबाट १ केजी १०० ग्राम बराबरको कोकिन बरामद गरिएको ब्युरोले जनाएकाे छ ।
अन्सारीले काठमाडौं-९ पिङगलास्थानस्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबोडोइफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
प्रहरीका अनुसार असार १ गते कतार एयरलाइन्सबाट नेपाल आएका ओबोडोइफुलाले कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर कोकिन ल्याएको पाइएको हो ।
बरामद कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।