काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सांसदहरु र कर्मचारीहरुको सम्पत्तिको छानविन गर्न माग गरेका हुन् । बहुदलपछि खालि खुट्टा आएका नेताहरुको चार, चारवटा घर काठमाडौंमा कसरी आयो भनेर उनले प्रश्न पनि गरे । भ्रष्ट नेताहरुलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर कुरा बुझ्ने बताए ।
‘२०४७ सालपछिको सम्पतिको छानविन गरौँ । निश्चित रुपमा जनता समाजवादी पार्टी पनि माग गर्दैछ । ०४६ सालपछि बहुदल आयो । खालि खुट्टा आएका नेताहरुको घर–घरमा चार, चारवटा पँजेरो, चार, चारओटा ठुलो बिल्डिङ काठमाडौँमा कहाँबाट आयो ? निश्चित रुपमा छानविन गर्नुपर्छ । तब जनताको निराशा हट्छ । र जनताले बुझ्छ जुन नेताले गल्ती गर्यो, त्यसलाई कानूनी कारबाहीमा ल्याइयो । त्यतिमात्रै होइन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानविन गर्नुपर्छ’, उनले भने ।
उनले सहकारी ठगहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताए ।