
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण प्रमुख भएको बताएका छन् । बुधबार उद्योग बाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा बोल्दै उनले सो बताएका हुन् ।
‘नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन, किनभने यस अवधिमा भारत बंगलादेश लगायतका मुलुकको वृद्धिदर उच्च छ, विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ, जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७।५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ, गत बर्ष पनि नेपालको वृद्धि दुइ प्रतिशत भन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढिले विस्तार भएको थियो’, अध्यक्ष ढकालले भने ।
उनले भारतको मात्रै नभएर उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी क्षेत्रले डोर्याएको वृद्धि भएको बताए । उनले नेपालको अर्थतन्त्र सानो भएकाले छिट्टै नै रिकभर गर्न सकिने हुँदा रणनीतिहरु माटो र परिस्थिति अनुकुल बनाउनुपर्ने बताए ।
‘हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ, त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो’, उनले भने, ‘त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ ।’