
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको विषयमा संसदीय छानबिन समिति गठन गर्न निरन्तर माग गरेपछि रास्वपाले पनि ०४७ साल यताका सबै भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग अगाडि सारेको छ ।
मंगलबार संसद भवन बानेश्वरमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले ललिता निवासदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा धेरै नेताहरुलाई जोगाइएको भन्दै सबै भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्नुपर्ने बताए ।
‘सरकारले ल्याएको न्यूनतम कार्यक्रममा पनि के छ भने त्यहाँ ललित निवासको सुरुवाती त अहिले विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो, ललितानिवास काण्डदेखि अहिले वाइडबडी काण्ड कोकोलाई जोगाइएको छ’, वाग्लेले भने, ‘यो सारा फेयरिस्तको छानबिन गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिकोपनि आह्वान गर्दछ ।’
कुनैपनि कालखण्डमा घटेका भ्रष्टाचारका काण्डलाई उत्खनन् गर्ने गरेर ‘ग्र्यान्ड पब्लिक कमिसन इन्क्वाइरी’ गर्ने हिसाबले आफूहरुको आह्वान रहेको समेत नेता वाग्लेले बताए । उनले आरोपका भरमा पात्रलाई खुइल्याउने भन्दापनि बृहत सार्वजनिक छानबिनमा जानुपर्ने उनले बताए ।