काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।
उनले यसपटक व्यापार घाटा पनि उच्च हुने देखिएको बताए ।
‘हाल बाह्य सूचकमा सुधार देखिए पनि आन्तरिक समस्या कायमै छ, यसपटक पनि व्यापार घाटा र बजेट घाटा उच्च हुने देखिएको छ,’ उनले भने- ‘बजेट बनाउँदा घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने हाम्रो धारणा छ, बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढ्दै गइरहेको छ ।’
अध्यक्ष मल्लले उच्च लगानी र आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसकेको बताए । तुलनात्मक लाभ भएका पर्यटन र कृषि आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको उनकाे भनाइ छ ।
‘पुँजीगत खर्च बढाउन समयतालिका बनाउनुपर्छ, नागरिकतासँगै प्यान कार्ड पनि वितरण गर्नुपर्छ,’ उनले भने- ‘कृषिमा दिँदै आएको कर्जाले निरन्तरता पाउनुपर्छ, बजेट र मौद्रिक नीतिमा आवश्यक समन्वय हुनुपर्छ, ४८ वर्ष पुरानो कालोबजारी ऐनलाई संशोधन गर्नुपर्छ ।’