काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ ।
मंगलबार संसद भवनमा बसेको संसदीय दलको बैठकले ठक वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको हो । बैठकका बारेमा जानकारी दिँदै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले रकारको बहालवाला मन्त्रीहरु समेत सहकारीको रकम अपचलन गर्नेकुरामा संलग्न देखापरेको अवस्थालाई सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए ।
उनले काँग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको बताए । संसदीय दलको बैठकले नेपाली काँग्रेसले उठाउँदै आएको माग उचित रहेको ठहर गरेको पनि बताए । तत्काल नेपाली काँग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । काँग्रेसले उठाएको मागकाप्रति सरकार गैरजिम्मेवार भए संसदका काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्ने जानकारी दिए ।
‘हामी रचनात्मक तर सरकारका कमी कमजोरीलाई सशक्त रुपबाट उठाउनेछौँ । अहिले सहकारीमा लाखौँ नागरिकले रकम जम्मा गरेका छन् । अर्बौं रुपैयाँ जम्मा भएको छ । देशभरका विभिन्न सहकारीमा वचतकर्ताको रकमको दुरुपयोग, अपचलन, ठगी हुने खालका घटना देखापरेका छन् । यसमा नेपाली काँग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजी सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई उठाएका छौँ । यसका निमित्त निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय छानबिन समिति बनाउन माग गरेका छौँ । यो बैठक नेपाली काँग्रेसले संलग्न सहकारी रकम अपचलन अपराधको स्वतन्त्र निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताको लागि संसदीय समिति गठन गर्ने मागलाई उचित ठहर गर्दछ’, उनले भने ।
काँग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विपरित विद्वेष फैल्याउने कुनैपनि खालका तत्वहरु अनुचित रहेको ठहर गरेको छ । सुनसरीमा विषयलाई लिएर भएको धार्मिक झडपप्रति गम्भीर रहेको बताएको छ ।