
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले चालु आर्थिक वर्ष (आव)मा नेपालको कुल गार्हस्थ उत्पादन वृद्धिदर ३.०९ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ । आइतबार आयोजित प्रि-बजेट छलफल कार्यक्रमा ‘नेपालको आर्थिक क्रियाकलापको वर्तमान अवस्थाा’ प्रस्तुत गर्दै म्यानले चालु आवमा उपभोक्ताको मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.०९ प्रतिशत रहने अनुमान गरेको हो ।
चालु आवको अन्त्यसम्म नेपालको अर्थतन्त्रको आकार ५८ खर्ब ३४ अर्ब ५१ करोड पुग्ने म्यानको अध्ययनले देखाएको छ । म्यानले विभिन्न तथ्यांकका स्रोतहरूलाई प्रयोग गर्दै विभिन्न क्षेत्रको अवस्थाको बारेमा तथ्यांक प्रस्तुत गरेको छ ।
उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक रहने
म्यानको अध्ययनअनुसार चालु आवमा उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक रहने देखिएको छ । विगत ८ आर्थिक वर्षदेखिको आंकडामा विश्लेषण गर्दै म्यानले चालु आवको अन्त्यसम्म उत्पादनमूलक र निर्माण क्षेत्रको आर्थिक वृद्धिदर क्रमशः ऋणात्मक रुपमा १.४९ र २.५१ प्रतिशत देखिने भएको हो ।
म्यानको अध्ययनले चालु आवमा आवास तथा भोजन सेवाको क्षेत्र सबैभन्दा धेरै अर्थात् १९.६० प्रतिशतले वृद्धि हुने देखाएको छ । त्यस्तै, विद्युत, ग्याँस, वाष्प तथा वातानुकुललित आपूर्ति सेवा १६.३१, वित्तीय तथा बीमाका क्रियाकलाप, ७.३३, मानव स्वास्थ्य तथा सामाजिक कार्य ५.८६, यातायात भण्डारण ५.८० र प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप ५.४३ प्रतिशतले वृद्धि हुने भएको अनुमान गरिएको छ ।
गत आर्थिक वर्षको तुलनामा वस्तु तथा सेवा उत्पादनमा खुद कर, कुल गार्हस्थ्य उत्पादन( आधार मूल्यमा), गैर कृषि, कृषि, वन तथा मत्स्यपालन, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप, पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, घरजग्गा कारोबार, वित्तीय तथा बीमाका क्रियाकलाप, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा झिनो वृद्धि हुने म्यानको अध्ययनले देखाएको छ ।
दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर चौथो स्थानमा
विभिन्न क्षेत्रले सार्वजनिक गरेका तथ्यांकहरुलाई विश्लेषण गर्दा पछिल्लो ७ वर्षको अवधिमा दक्षिण एसियाका मुलुकहरुमा नेपालको औसत आर्थिक वृद्धिदर चौथो स्थानमा देखिएको छ । म्यानले विश्व बैंक र ओइसिडीको तथ्यांकलाई लिएर गरेको विश्लेषणमा आव ०७३/७४ देखि आव ०७९/८० सम्ममा नेपालको आर्थिक वृद्धिदर ४.१४ प्रतिशत रहेको छ ।
जबकी सोही अवधिमा बंगालादेशको ६.५४, मालदिभ्सको ५.३१, भारतको ५.२५, पाकिस्तानको ३.६०, भुटानको २.९०, श्रीलंकाको ०.५५ र अफगानिस्तानको माइनस २.५९ प्रतिशत औसत आर्थिक वृद्धि भएको आंकडाहरुले देखाएका छन् ।
आर्थिक वृद्धिका लागि लगानीको वृद्धि गर्नुपर्ने म्यानको सुझाव
नेपालको पछिल्लो अवस्थाको आर्थिक अवस्थाको विश्लेषण गर्दै म्यानले नेपालको आर्थिक वृद्धिदर बढाउन तीनै तहका सरकारले पुँजीगत खर्च बढाउनुपर्ने सुझाव दिएको छ । साथै, अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउन सरकार, निजी क्षेत्र र वैदेशिक लगानी बढाउन आवश्यक भएको निष्कर्ष म्यानको छ ।
विगतको अनुभवबाट सिक्दै आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गर्न आवश्यक भएको र युवाहरुको विदेश पलायनलाई वैज्ञानिक व्यवस्थापन गर्न ढिलो भइसकेको म्यानले प्रतिवेदनमा उल्लेख गरेको छ ।