८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति १९ खर्ब नजिक

<p>काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा साढे ९ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ भने, विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नजिक पुगेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले चालु आवको ८ महिनाको तथ्यांक सार्वजनिक गर्दै सो आवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई ९ सय ६१ अर्ब २२ करोड पुगेको जनाएको छ । [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा साढे ९ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ भने, विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नजिक पुगेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले चालु आवको ८ महिनाको तथ्यांक सार्वजनिक गर्दै सो आवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई ९ सय ६१ अर्ब २२ करोड पुगेको जनाएको छ ।

०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

त्यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्घि भई २२८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई  १०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

Share News