उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत, सबैभन्दा बढी पहाडमा

<p>काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा महंगी ४ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०८० फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा महंगी ४ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०८० फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ११.७९ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.१५ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५० प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो ।

Share News