नेपालगञ्ज भन्सारद्वारा आठ महिनामा ११ अर्ब ५९ करोड राजस्व संकलन

<p>बाँके । नेपालगञ्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यस वर्षको फागुनसम्ममा गत आवभन्दा १.३५ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत वर्षको साउनदेखि फागुनसम्ममा ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने चालु आवको फागुनसम्म [&hellip;]</p>

बाँके । नेपालगञ्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यस वर्षको फागुनसम्ममा गत आवभन्दा १.३५ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

गत वर्षको साउनदेखि फागुनसम्ममा ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने चालु आवको फागुनसम्म ११ अर्ब ५९ करोड ९ लाख ४३ हाजर रुपैयाँ राजस्व संकलन भएको छ ।

यस वर्षको आठ महिनामा ७ करोड ८९ लाख ९५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ भने गत वर्ष २ करोड १५ लाख ६३ हजाररुपैयाँ बराबरको सामान बरामद गरेर भन्सार बुझाइएको छ ।

फागुनसम्मको लक्ष्य १८ अर्ब ७७ करोड ४८ लाख २९ हजारको लक्ष्यमा ११ अर्ब ५९ करोड नौ लाख ४३ हाजर रुपयाँ राजस्व संकलन भएको अधिकृत ध्रुवराज विश्वकर्माले बताए । जसको लक्ष्यको ६१.७४ प्रतिशत संकलन भएको छ ।

उनका अनुसार यसवर्षको फागुनसम्मको आयात ४६ अर्ब १७ करोड बराबरको सामान आएको छ । गत वर्षको फागुनसम्म ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । यो ६.६१ प्रतिशतले बढेको बुझिएको छ । यो वर्षको फागुनसम्ममा १ अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष एक अर्ब ५७ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गत वर्षको तुलनामा यो वर्ष १.१९ प्रतिशतले निर्यात घटेको छ ।

यस वर्ष भारतबाट मात्रै ९.८७ प्रतिशतले सामान आयात भएको छ । सात प्रतिशत सामान चीन, इण्डोनेसिाया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसैवर्ष भारतमा मात्रै ९९.०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे २ लाख राजस्व संकलन हुने गरेको छ । सबैभन्दा धेरै आयल निगमबाट राजस्व संकलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।

उनका अनुसार ५१ प्रतिशत राजस्व संकलन आयल निगमबाट मात्रै हुने गरेको छ । चालु आवको चैत महिनाको राजस्वको लक्ष्य २ अर्ब ४५ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेकोमा १७ गते शनिबारसम्म ८० करोड १० लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो भनेको लक्ष्यको ३२.६९ प्रतिशत राजस्व संकलन भएको हो । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार राजस्व आउने प्रमुख मालबस्तुमा प्रेटोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बीलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

Share News