
काठमाडौं । भारतले नेपाललाई तीन महिनाको लागि विद्युत आयातको अनुमति नवीकरण गरिदिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार भारतले आगामी तीन महिनाको लागि ५५४ मेगावाट विद्युत आयातको अनुमति नविकरण गरिदिएको हो ।
प्रवक्ता घोषकाअनुसार मजफ्फुर प्रसारण लाइनबाट ५ सय मेगावाट र जनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट विद्युत आयात नेपालले पाएको हो । यसअघि नेपालले विद्युत आयातका लागि एक वर्षको अनुमति पाएकोमा यसपटक भने तीन महिनाको लागि मात्रै अनुमति नवीकरण भएको हो ।
विद्युत आयातको अनुमति पाएपछि नेपाल विद्युत प्राधिकरणले आवश्यकताअनुसार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गरेर विद्युतको आयात गर्ने गर्छ । सो प्रक्रियाबाट विद्युत खरिद गर्दा खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । भारतको सो विद्युत बजारमा भाग लिन नेपालले २०७८ वैशाखमा अनुमति पाएको थियो ।
विद्युत आयातको नवीकरणसँगै वर्षायाम अगाडि लोडसेडिङ हुने सम्भावना अब नहुने प्रवक्ता घोषले बताएका छन् । चैत महिनामा नै देशभरी पानी पर्न लागेकाले विद्युत आयात गर्नुपर्ने अवस्था नआउन सक्ने समेत उनले बताए ।