काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गरेका छन् ।
बिहीबार काठमाडौंमा याडिया जि—६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेशन राखेको भएपनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिव ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताए ।
उनले एकै ठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानी कर्ताहरुले आग्रह गरिरहेको बताए । धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशन बनेको बताए । चार्जिङ स्टेशनमा गरिएको लगानी पट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने बताए । प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभइ प्रोत्साहनका लागि लगानी गरिरहेको बताए । प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको जानकारी दिए ।
‘शुरुमा हामीले प्रमोसनका लागि । वास्तवमा त्यो बेला कतै पनि चार्जिङ स्टेशन थिएन । हामीले प्रमोशनका लागि ५१ वटा फास्ट चार्जिङ स्टेशन, विद्युत प्राधिकरणले राखेको थियो । त्यसलाई थपेर देशभर विभिन्न ठाउँमा ६२ वटा बनायौँ । यो धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म छ । म एउटा आह्वान के गर्न चाहन्छु भने सबै लगानी कर्तालाई फास्ट चार्जिङ स्टेशनमा सबैले लगानी गर्नुपर्छ । यो लगानी अर्को ठूलो लगानी हो । यो पेट्रोल पम्प भन्दा ठूलो लगानी यो फास्ट चार्जिङ स्टेशनमा आउनुपर्छ । फास्ट चार्जिङ स्टेशनको लगानी भनेको मल्टी डाइरेक्शन लगानी हुन्छ । त्यो एउटा ठूलो चेन बिजनेस बन्छ । हाम्रो बेसिक प्राइज हामीले हाम्रो कस्ट भन्दा पनि कममा दिएका छौँ’, उनले भने ।
याडिया जि—६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ । फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ ।
फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन् । कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ । याडिया जि—६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।