काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सचिव अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी दिएका हुन् । उनले देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरुको लगत संकलन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी त्यस्ता जग्गाहरु साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिएको पनि बताए ।
उनले यस सम्बन्धी सूचना दिएर सहयोग गर्न सबै नागरिकहरुलाई अपील गरिएको पनि स्पष्ट पारे । मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेको बतांए । यस सन्दर्भमा निष्पक्ष रुपमा काम गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उनको भनाई छ । सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताए ।
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको चरणमा रहेको उल्लेख गर्दै उनले अध्ययनपश्चात् कार्यान्वयनमा लगिने बताए । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नविकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिहरुसँग गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रण गरी शुन्यमा झार्ने नीति अवलम्वन गरेको पनि जानकारी दिए ।
‘मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेको छ । यस कार्यमा निष्पक्ष रुपमा काम गर्न प्रहरीलाई निर्देशन दिइसकिएको छ । सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको छ । अनुमति प्राप्त हतियारको गैरकानूनी प्रयोग नियन्त्रण गर्न गृह मन्त्रालयले जिल्लामा अनुमति प्राप्त हतियार र नविकरणको अवस्था बारे जानकारी माग गरेको थियो । मन्त्रालयले व्यक्तिहरुसँग गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रण गरी शुन्यमा झार्ने नीति अवलम्वन गरेको छ’, उनले भने ।
सचिव अर्यालले अहिले अपराधको विश्लेषण गर्दा आत्महत्या, बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुरहरु, अभद्र व्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, लागुऔषध दुव्र्यसन, चोरी, जबर्जस्तीकरणी, बहुविवाह र ठगी जस्ता अपराधहरुको हिस्सा ठूलो देखिएको बताए । यस प्रकारका अपराधहरु सम्पूर्ण अपराधको ८० प्रतिशत भन्दा बढी रहेको जानकारी दिए ।