काठमाडौं । निःवर्तमान अर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालिन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दाबी गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरेका हुन् ।
उनले वर्तमान गठबन्धन सरकारले २१ खर्बको बजेट ल्याउने तयारी गरेको भन्दै असन्तुष्ट व्यक्त गरे । ठूलो आकारको बजेट ल्याउँदा सबै केही क्षण खुशी भएको जस्तो देखिए पनि बजेटले गर्ने दीर्घकालिन दायित्व सिर्जना र घोषणा पूर्तिको बेलामा अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ने स्थिति आउने दाबी गरे । २० खर्बको बजेट बनाउन सरकार लागेको भन्ने सुनेको भन्दै उनले सरकारले सके २० खर्ब मात्रै नभई ३० खर्ब ल्याउँदा पनि फरक नपर्ने तर कार्यान्वयनमा समस्या हुने बताए ।
‘मैले सुनिरहेको छु । २० खर्बको बजेट बनाउन सरकार लागेको छ अरे । बनाउनुस् शुभकामना छ । म चाहन्छु सरकारले सकेदेखि २० खर्ब होइन ३० खर्ब बनाउनुस् । तर बजेट प्रश्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने,सबै ठाउँमा बजेट राखेको छु भनेर घोषणा गर्ने र सँगै कार्यकर्ताले चाहेका मागहरुलाई वितरण गरेर पूर्ति गर्दा सबै एकक्षिण खुशी भएको जस्तो देखिएला तर यसले गर्ने दीर्घकालिन दायित्व सिर्जना गर्छ र घोषणा पूर्ति हुँदैन । त्यसपछि अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ला ? अहिले मैले भने ३ खर्ब ३१ अर्ब रुपैयाँ यो वर्ष ऋण र साँवा भुक्तानी गर्नुपर्छ । अर्थमन्त्रीले त्यो कुरा नकार्न सक्नुहुन्न । उहाँले ४ खर्ब ३५ अर्ब त्यसको लागि छुट्याउनुपर्छ । स्थानीय निकाय ७५३ पालिका सात प्रदेशलाई दिँदै आएको सहयोग दिनैपर्छ । सामाजिक सुरक्षालाई निरन्तरता गर्ने कुरा गरेको छु । तर जुन दोहोरोपन छ । चाहिने र नचाहिनेलाई पनि दिएका र्छौं । सामाजिक सुरक्षाको ठूला दायित्व पूर्ति गर्नुपर्छ । बाँकी रहेको स्रोतको प्राथमिकरण नगरी खर्च नगर्ने हो भने समस्या हुन्छ ।’ उनले भने ।
त्यस्तै, उनले स्थानीय निकाय ७५३ पालिका सात प्रदेशलाई दिँदै आएको सहयोग रोक्न नमिल्ने बताए । र, सामाजिक सुरक्षालाई निरन्तरता दिँदा आवश्यकताको आधारमा दिने व्यवस्था गर्नु आवश्यक रहेको उनको भनाई छ ।