काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका हुन् । उनले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माण लगायत हरेक कामलाई गम्भिरताका साथ लिएर अगाडी बढ्ने बताए । उनले विभिन्न पार्टीसँग आवद्ध राष्ट्रिय सभा सदस्यहरुलाई एकतावद्ध बनाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताए । संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने बताए ।
‘भोलिको दिनमा म आफ्नो ठाउँबाट जे उद्देश्यका साथ, जे प्रतिवद्धताका साथ र जे चाहना र भावनाका साथ मलाई यो ठाउँमा पुर्याउनुभएको छ, म त्यो काम पूरा गर्नको निम्ति तयार रहनेछु । राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भिरताका साथ लिएर म अगाडी बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस् । राष्ट्रिय सभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु’, उनले भने ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा अध्यक्षको रुपमा आफू सफल हुने कुराको आत्मविश्वास रहेको बताए ।