
काठमाडौं । मंगलबार राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सभाको अध्यक्षका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ।
राष्ट्रिय सभाको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गर्नेछिन् । फागुन २१ गतेदेखि रिक्त रहेको अध्यक्ष पदका लागि सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार नै संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको थियो।
निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो ।
५९ सदस्यीय राष्ट्रिय सभामा एकजना मनोनित गर्न बाँकी छ । जसबाट ५८ सदस्यको बहुमत अर्थात् ३० जनाको समर्थन भए अध्यक्षमा निर्वाचित भएको मानिने छ ।