काठमाडौं । समयमा तलब भुक्तानी नगरेको भन्दै माउन्ट एभरेष्ट ब्रुअरीका कर्मचारीले शान्तिपूर्ण विरोध गरेका छन् । कर्मचारीहरूले लामाे समयदेखि तलब नपाएकाे भन्दै शान्तिपूर्ण विरोध थालेका हुन् ।
कर्मचारीले कार्यालयमा मागसहितको कालो ब्यानर झुण्याएर विरोध सुरु गरेका हुन् । कम्पनीका कर्मचारीका अनुसार उनीहरूले कम्पनीबाट पाउनु पर्ने तलब सेवा सुविधा नियमित पाएका छैनन् ।
कम्पनीले सम्पूर्ण कर्मचारीको कोष कट्टी गरी राखेको रकम सञ्चय कोषमा दाखिला नगरेको, पारिश्रमिकबापत कट्टी गरी राखेको टीडीएस दाखिला नगरेको जनाएका छन् । उनीहरूले श्रम कार्यालय र रजिस्ट्रार कार्यालयको नियम पालना गर्नुपर्ने माग पनि राखेका छन् ।
सन् १९९० मा स्थापना भएको माउन्ट एभरेष्ट ब्रुअरी नेपालको प्रमुख बियर उत्पादक कम्पनी हाे । यसले एभरेष्ट बियर र गोल्डेन टाइगर बियर उत्पादन गर्छ । कम्पनीको बियर कारखाना चितवन भरतपुरमा छ ।