काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् ।
सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्दा देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो की फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो ? भन्ने लडाईं कायम रहेको बताए ।
ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको बताए । सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको जानकारी दिए ।
‘अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्ने हो भने हरेक क्षेत्रमा यो परिवर्तन अब समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो की फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो ? यो लडाईं सर्वत्र छ भनेर म तपाईंहरुलाई भन्न चाहन्छु । हामीले निकै ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएकै हो’, उनले भने ।
प्रधानमन्त्री दाहालले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठिक छैन, समावेशी, समानुपातिकता ठिक छैन, शिक्षा सुधार ठिक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गरे ।