काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
डा. भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । उनी दुईपटक विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका छन् । अहिले पनि उनी सेज प्राधिकरणको कार्यकारी निर्देशककै रुपमा कार्यरत छन् ।
डा. भट्ट इञ्जिनियर हुन् । उनले जापानको इहिमे विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनी काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
सरकारले गठन गरेको सिफारिस समितिमा १३ जनाले आवेदन दिए पनि समितिले भट्टसहित डा. डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीलाई सिफारिस गरेको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)को अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेकाे छ । भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेशा शर्माका सल्लाहकार पनि हुन् । तर, उनले अध्यक्षका लागि आवेदन दिँदै सल्लाहकारबाट राजीनामा दिएका थिए । माओवादी पार्टी निकट उनी रेखा शर्माका विश्वासिला पात्र हुन् ।
भण्डारीसँग सूचना प्रविधि क्षेत्रमा लामो अनुभव छ । उनले सन् २००८ देखि २०१५ सम्म स्मार्ट मोबाइल बुरुण्डीको सीईओ भएर काम गरेका थिए । त्यसपछि उनले डेढ वर्ष इन्टरग्रुप टेलिकम, सियरा लियोनमा सीईओ भएर काम गरेका थिए । ती दुवै कम्पनीमा गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष समेत रहेका उपेन्द्र महतोको लगानी छ ।