काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्था शाखा विस्तारमा सुस्त देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार लघुवित्तहरू शाखा विस्तारमा सुस्त देखिएका हुन् ।
अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.३४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रयमासमा भने ०.०६ प्रतिशतले वृद्वि भएको देखिन्छ ।
यस्तै, समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ भने यस बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ ।
लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिन्छ । २०७९ पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको छ ।
५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ ।