काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै पूर्वसचिव उपाध्यायसहित १८ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल, बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङसहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको बताइएको छ ।
अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्षसमेत रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव भिम उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको छ ।
यस्तै, अख्तियारले बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ बिगो माग दाबी गरेको छ । हाल उनी अध्यागमन विभागका महानिर्देशक हुन् ।
त्यसैगरी, तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव तथा तत्कालीन बोर्ड सदस्य पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगो माग दाबी गरेको छ ।