काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बालकुमारी घटनामा संलग्नलाई निलम्बन गर्ने बताएका छन् । संसदमा सांसदहरुले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेसँगै प्रधानमन्त्रीले उक्त माग सम्बोधन गर्दै सो बताएका हुन् ।
‘बालकुमारी घटनालाई गम्भीर रुपले लिएर संलग्न सबैलाई निलम्बन गर्छौं, छानबिनको प्रकृया अघि बढाउँछौं र मृतकको परिवारलाई १० लाख मात्रै नभई बढी दिने व्यवस्था गर्छौं,’ सभामा बोल्दै उनले भने ।
सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधिश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्दै सोको आधारमा कारबाहीको प्रकृया अघि बढाउने प्रधानमन्त्री दाहालले बताए ।
‘बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको छ, जाँचबुझ आयोगको प्रतिवेदन आज बुझ्दै छु, बुझेपछि अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ,’ उनले भने ।
यसअघि सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको थियो । तर उक्त रकम बढाउने सरकारको तयारी रहेको दाहालले बताए । श्रम मन्त्रालयलाई थप रकम उपलब्ध गराउन निर्देशन दिइएको प्रधानमन्त्रीले जानकारी गराए ।
साथै, मृतकका परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि गर्ने सरकारको निर्णय छ ।