
काठमाडौं । नोट तथा सिक्का छपाई गर्दा विद्युतीय बोलपत्र आह्वान गर्नु नपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विद्युतीय खरिद सञ्चालन निर्देशिका, २०८० लाई संशोधन गर्दै नोट तथा सिक्का छपाई खरिद पक्रियामा विद्युतीय बोलपत्र आह्वान गर्नु नपर्ने व्यवस्था गरेको हो ।
विद्युतीय खरिद सञ्चालन निर्देशिका, २०८० को दफा ५ मा उपदफा थपेर सो व्यवस्था गरिएको हो । ‘(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंक नोट तथा सिक्काको सुरक्षण विशेषताको गोपनियता कायम गर्ने प्रयोजनको लागि बैंक नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी खरिद कार्य गर्दा यस दफा बमोजिम विद्युतीय खरिद प्रणाली मार्फत गर्न सार्वजनिक निकाय बाध्य हुने छैन । यसरी गरिने खरिद कार्यको औचित्य पुष्टि हुने गरी सार्वजनिक निकायले निर्णय गरी सोको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई समेत दिनुपर्नेछ’, संशोधित निर्देशिकामा भनिएको छ ।
साथै संशोधनसँगै विद्युतीय बोलपत्र गरेपछि अन्य माध्यमबाट सूचना प्रकाशन गर्न नपर्ने व्यवस्थालाई हटाइएको छ ।