काठमाडौं । काभ्रे ब्रोइलर सप्लायर्सको सञ्चालक रामभक्त थापा पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पनौती नगरपालिका–६ घर भएका ६७ वर्षीय थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
तीन वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ जरिवाना सुनाइएपछि फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
६७ वर्षिय थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर काभ्रे ब्रोइलर सप्लायर्स नाममा रहेकाे काभ्रेपलाञ्चोकको प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी कर्जा लिएका थिए । तर तोकिएको परियोजनामा कर्जा लगानी नगरी दुरुपयोग गरेको भन्दै पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो ।
पुनरावेदन अदालत पाटनले उनलाई २०७१ वैशाख २९ गते बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरी ३ वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँको जरिवाना सुनाएको थियो ।
त्यसपछि फरार भएकाे थापालाई सीआईबीले २०८० माघ २६ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको सीआईबीले बताएको छ ।