काठमाडौं । पछिल्लो समय ट्राफिक नियम उल्लङ्घनका घटना बढेसँगै जरिवाना पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट पौने १ अर्ब जरिवाना वा राजस्व सङ्कलन भएको छ । ६ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो ।
उक्त राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३ रुपैयाँ, मधेस प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१ रुपैयाँ, बागमती प्रदेशबाट ७ करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकी प्रदेशबाट ८ करोड १८ लाख ७६ हजार ६ रुपैयाँ, लुम्बिनी प्रदेशबाट ९ करोड ३८ लाख ६४ हजार २ रुपैयाँ, कर्णाली प्रदेशबाट १ करोड ५६ लाख ४५ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार रुपैयाँ सङ्कलन भएको हो ।
यसैगरी ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार ४ सय रुपैयाँ, बस/मिनिबसबाट ९ करोड २० लाख ५ सय रुपैयाँ, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६ रुपैयाँ, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार रुपैयाँ, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ रुपैयाँ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६ सय रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार÷ यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक÷ट्याङकर १ लाख ७० हजार ८४२, बस/मिनिबस १ लाख ९ हजार ३७७ वटा, कार/जिप/भ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् ।
नेपाल प्रहरीले ट्राफिक कारबाहीबाट मात्र नभइ कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयन, भन्सार छलीलगायत गैरकानुनी गतिविधि गर्नेहरूबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ ।