काठमाडौं । घराना डेभलपर्सको सञ्चालक मन्दिरा केसी (कार्की) ९ वर्षपछि पक्राउ परेकी छिन् । तीन वर्ष कैद र चार करोड जरिवाना सुनाइएपछि फरार रहेकी केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।
४५ वर्षिय केसीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घराना डेभलपर्सका नाममा रहेका भक्तपुरको साविक चाँगुनारायण गाविस ७ र ९ का जग्गा धितो राखेर कर्जा लिएकी थिइन् । तर तोकिएको परियोजनामा कर्जा लगानी नगरी दुरुपयोग गरेको भन्दै उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो ।
उच्च अदालत पाटनले उनलाई २०७१ वैशाख २९ गते बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरी ३ वर्ष कैद र ४ करोडको जरिवाना सुनाएको थियो । त्यसपछि फरार भएकी केसीलाई सीआईबीले २०८० माघ २० गते काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए । साथै, विगतमा सुनाइएको फैसला कार्यान्वयनको लागि माघ २१ गते काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अधिकारीले बताए ।