‘भीआईपीलाई समात्दा दबाब आउन थाल्यो, सरकार प्रभावमा पर्दैन’

<p>काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गलत काम गर्नेलाई पक्राउ गर्दा दबाब आउन थालेका बताएका छन् । शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले विभिन्न नेता तथा व्यवसायीलाई गलत गरेको भरमा पक्राउ गर्दा विभिन्न नेता तथा संघ संस्थाबाट दबाब आउने बताएका हुन् । गलत काममा संलग्न कर्मचारीलाई कारबाही गर्दा कर्मचारी संगठन र व्यवसायीलाई [&hellip;]</p>

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गलत काम गर्नेलाई पक्राउ गर्दा दबाब आउन थालेका बताएका छन् । शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा सम्मेलनमा शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले विभिन्न नेता तथा व्यवसायीलाई गलत गरेको भरमा पक्राउ गर्दा विभिन्न नेता तथा संघ संस्थाबाट दबाब आउने बताएका हुन् ।

गलत काममा संलग्न कर्मचारीलाई कारबाही गर्दा कर्मचारी संगठन र व्यवसायीलाई कारबाही गर्दा पनि दबाब आएको उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले निजी क्षेत्रको साथ र सहयोगबाट मात्र देशको अर्थतन्त्र सुधार हुने भए पनि अपराध गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

‘गल्ती अपराध गर्ने व्यवसायीलाई कारबाही थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, यो देशका कर्मचारीले गल्ती गरेर कारबाही गर्न थाल्यो भने कर्मचारी कराउन थाल्छ, उनले भने, अनि कसरी काम गर्ने ?’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार व्यवसायी अरूण चौधरीलाई पक्राउ परेको थियो । उनले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो । उनी पक्राउ परेलगत्तै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन र विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन् ।

उनले कसैको हस्तक्षेपबाट सरकार पछि नहट्ने पनि बताएका छन् । उनले सुरक्षाकर्मीलाई पनि कसैको प्रभाव, दबाब र हस्तेक्षपबाट भयभीत नभई अगाडि बढ्न पनि निर्देशन दिएका छन् ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्यमा सुरक्षा तथा राज्यका सबै निकायको अहम् दायित्व रहेको उनको भनाइ छ । कामकारबाहीमा देखिने स्वार्थको द्वन्द्व न्यूनीकरण गर्न ‘नतिजामूलक स्पष्ट कार्य ढाँचा’ तयार गर्नुपर्ने उनले धारणा राखेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बैंकसँग ऋण लिएर ऋण तिर्दिन भन्दै अवाञ्छित माग राखी शान्ति सुव्यवस्थामा खलल पु¥याउने, सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक तथा जातीय अतिवाद बढाउने, सहिष्णु समाजको सद्भावमा विग्रह ल्याई निहित स्वार्थ पूरा गर्ने प्रवृत्ति देखा परेको पनि बताएका छन् ।

वित्तीय अपराधका कारण धेरै ठूलो सङ्ख्यामा नागरिक ठगिएका र कतिपय बेघरबार बनेको बताउँदै उनले सहकारी, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अवैध वित्तीय कारोबार, वैदेशिक रोजगारीको प्रलोभनमा हुने ठगीलगायत अपराधको नियन्त्रण चुनौती बनेको बताए ।

Share News