
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री सप सञ्चालनको लागि गरेको बोलपत्र आह्वानमा कुनै व्यवसायीले चासो देखाएनन् ।
विमानस्थल कार्यालयले खुला प्रतिस्पर्धाका आधारमा ड्युटी फ्री सप सञ्चालनका लागि ४ मंसिर २०८० मा ३० दिने सूचना प्रकाशित गरेकोमा सो अवधिभित्र कसैले पनि आवेदन नगरेपछि कार्यालयले पुस ४ मा १५ दिन र पुस १९ मा ३० दिन समयावधि राखेर सूचना प्रकाशित गर्दा पनि कसैले आवेदन नहालेका हुन् । त्यसपछि कार्यालयलले माघ १९ गते पनि ३० दिने म्याद राखेर नयाँ सूचना प्रकाशन गरेको छ ।
नागरिक उड्ड्यन कार्यालयले विमानस्थलभित्र प्रस्थानतर्फ पहिलो तलामा २६.११ वर्गमिटर र आगमनतर्फ अध्यागमन नजिकै ७८.८ वर्गमिटर गरी कुल १०९.९१ वर्गमिटर क्षेत्रफलमा पाँच वर्षका लागि ड्युटी फ्री सप सञ्चालन गर्न बोलपत्र आह्वान गरेको हो । सूचनाअनुसार उक्त ड्युटी फ्री सपको न्यून न्यूनतम भाडा १५ करोड १५ लाख २१ हजार २५७ रुपैयाँ तोकिएको छ । तर, पटकपटकको म्याद थपिएको सूचनामा पनि कसैले बोलपत्र पेश नगरेपछि ठेक्का नै रद्द हुनसक्ने अवस्थामा पुगेको देखिएको छ ।
किन आउन सकेन ठेक्का ?
नाफा न्यून हुने सम्भावनाका कारण ड्युटी फ्री सप सञ्चालनको लागि प्रकाशित गरेको सूचनामा ३ पटकसम्म म्याद थप गर्दा पनि कोही व्यवसायीले चासो नदेखाएको हुनसक्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । सरकारले ड्युटी फ्री सपमा रक्सी र चुरोट बिक्री गर्न नदिने भनेपछि नाफा कम हुने देखेर व्यवसायीहरुले चासो नदेखाएको हुनसक्ने उनको अनुमान छ ।
‘भाडा महँगो भन्ने भयो की, ड्युटी फ्री मा पहिले मदिरा र धुम्रपान बिक्री हुन्थ्यो त्यो अहिले रोकिएको छ, त्यही कारणले नआएका हुन की’, उनले भने, ‘बढी मुनाफा हुने मदिरा र धुम्रपानमा हो त्यो नेपाल सरकारले प्रतिबन्ध नै गरेकाले नआएका हुन की भन्ने हाम्रो अनुमान हो ।’ उनका अनुसार यसपपटकको सूचनामा पनि कसैले आवेदन नगरेमा त्यसको प्राधिकरणले सो बोलपत्रको विषयमा समीक्षा गर्नेछ ।