सेयर खरिदबिक्री गर्दा दूरसञ्चारको पूर्व स्वीकृति लिनुपर्दैन : एनसेल

<p>काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको सेयर खरिद बिक्री गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको पूर्व स्वीकृति लिनु नपर्ने उल्लेख गरेको छ । एनसेलले मंगलबार सरकारले गठन गरेको छानबिन समितिलाई आफ्नो स्पष्टीकरण बुझाउँदै एनसेलको सेयर कारोबार कानूनसम्मत भएको बताएको हो । एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा प्रश्नहरु उठेपछि सरकारले छानबिन गर्न बनाएको समितिले सोमबार सरकारलाई प्रतिवेदन [&hellip;]</p>

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको सेयर खरिद बिक्री गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको पूर्व स्वीकृति लिनु नपर्ने उल्लेख गरेको छ । एनसेलले मंगलबार सरकारले गठन गरेको छानबिन समितिलाई आफ्नो स्पष्टीकरण बुझाउँदै एनसेलको सेयर कारोबार कानूनसम्मत भएको बताएको हो ।

एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा प्रश्नहरु उठेपछि सरकारले छानबिन गर्न बनाएको समितिले सोमबार सरकारलाई प्रतिवेदन बुझाएको छ । एनसेलले सेयर खरिदबिक्री सम्बन्धमा आफ्नो धारणा समितिलाई मंगलबार बुझाउँदै स्पष्टीकरण दिएको हो ।

एनसेलले समितिलाई बुझाएको पत्रको पूर्णपाठ :

एनसेलको सेयर होइन एनसेलको सेयरधनीको सेयर खरिदबिक्री भएको कारोवारमा त्यस्तो सेयर खरिदबिक्री गर्नु पूर्व दूरसञ्चार नियमावली र विनियमावली बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनु नपर्ने सम्बन्धमा यथार्थ विवरण

एनसेलको शेयरधनी कम्पनी रेनोल्ड होल्डिंगको सेयर खरिदबिक्री भएको सम्बन्धमा सार्वजनिक संचार माध्यमहरुमा पूर्व स्वीकृतिका सम्बन्धमा विभिन्न समाचार प्रकाशित र प्रसारित भएपछि के कसो भए गरेको हो भन्न सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसँग भएको छलफल र प्राप्त जानकारी एवम् सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन समेतबाट निम्न यथार्थ विवरण खुल्न आएको छ ।

१. दूरसञ्चार ऐन, २०५३ को दफा २ (क) मा अनुमतिपत्र प्राप्त व्यक्ति भन्नाले दफा २४ बमोजिम दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र पाएको व्यक्ति सम्झनु पर्छ भनेर परिभाषा गरिएको छ भने सोही ऐनको दफा २९ (अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्तहरु) मा अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवा सञ्चालन गर्दा पालन गर्नु पर्ने यस ऐनमा लेखिएदेखि बाहेकका अन्य शर्तहरु तोकिए बमोजिम हुने व्यवस्था गरिएको ।

२. दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्तहरु) को उपनियम (१) ले ऐन वा यस नियमावलीमा उल्लिखित शर्तहरुको अतिरिक्त अनुमतिपत्र प्राप्त व्यक्तिले देहायका शर्तहरु पालन गर्नु पर्नेछ भन्ने व्यवस्था गरी खण्ड (ट) मा चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा बढी सेयर खरिद वा बिक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिने शर्त निर्धारण भएको ।

३. नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम १ को उपविनियम (३) मा यो विनियमावली अनुमतिपत्र प्राप्त व्यक्तिको चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी सेयर खरिदबिक्री गर्न प्राधिकरणको स्वीकृति लिने दिने प्रयोजनका लागि मात्र लागू हुने व्यवस्था गरेको र विनियम २ को खण्ड (ग) मा अनुमतिपत्र प्राप्त व्यक्ति भन्नाले ऐन बमोजिम सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ र सो शब्दले सेवा प्रदायकसमेतलाई जनाउनेछ भनेर परिभाषा गरिएको ।

त्यस्तै विनियम ४ (सेयर नामसारी वा खरिदबिक्री गर्न सक्ने) को खण्ड (क) ले अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना सेयरधनीको सेयर खरिदबिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने र विनियम ५ (संलग्न गर्नु पर्ने कागजात) को उपविनियम (१) मा विनियम ४ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्रीको लागि प्राधिकरणसँग स्वीकृति माग गर्दा देहायको कागजात संलग्न गरी स्वीकृति माग गर्नु पर्ने भन्दै खण्ड (ज) मा सेयर लागत मूल्य र खरिदबिक्री मूल्य खुलेको सेयर खरिदबिक्रीको लागि भएको द्विपक्षीय सम्झौता (Share Purchase Agreement) को प्रतिलिपि उल्लेख भएको । यसबाट स्वीकृति लिनु भन्दा पहिले क्रेता र विक्रेता पक्षहरुका बीच द्विपक्षीय सम्झौता (Share Purchase Agreement) हुने र त्यसपछि सो सम्झौतासमेत पेश गरी स्वीकृतिका लागि निवेदन दिनु पर्ने देखिन्छ । सोही विनियमावलीको अनुसूची १ सेयर खरिदबिक्री सम्बन्धी निवेदनको ढाँचा र अनुसूची ३ प्रस्तावित सेयर खरिदबिक्रीको प्रस्तावित लिखतको ढाँचासमेत हेर्दा एनसेलको सेयर खरिदबिक्रीको सन्दर्भमा मात्र सो विनियमावलीका प्रावधानहरु आकर्षित हुने विनियम १ (३) थप पुष्टी भएको ।

यसरी दूरसञ्चार ऐन, २०५३ को दफा २ (क) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम २ (ग) ले अनुमतिपत्र प्राप्त व्यक्तिको परिभाषा गरे अनुसार दफा २४ बमोजिम दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र पाएको व्यक्ति सम्झनु पर्ने, ऐन बमोजिम सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनु पर्ने अर्थात सेवा प्रदायकसमेतलाई अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनु पर्ने परिभाषा अनुसार अनुमतिपत्र प्राप्त व्यक्ति र सेवा प्रदायक एनसेल हो भन्ने निष्कर्ष निकालिएको ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ को शीर्षक नै अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्तहरु रहेको छ । अनुमतिपत्र प्राप्त व्यक्ति अर्थात एनसेलको सेयर दर्ता किताब कम्पनी ऐन, २०६३ को दफा ४६ बमोजिम खडा हुन्छ र दफा ५१ बमोजिम सेयर लगत तयार हुन्छ । दफा ५१ को खण्ड (ग) बमोजिम शेयर लगतमा कम्पनीको चुक्ता पूँजी खुलाइएको हुन्छ । यही चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी सेयर खरिद बिक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनु पर्दछ । एनसेलको कम्पनी ऐन, २०६३ को दफा ५१ (ग) मा उल्लिखित कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा बढी सेयर खरिदबिक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनु पर्ने नियमको मक्सद हो भन्ने निष्कर्ष निकालिएको ।

नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम १ (३) अनुसार सो विनियमावली अनुमतिपत्र प्राप्त व्यक्ति (एनसेल) को चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी सेयर खरिदबिक्री गर्न प्राधिकरणको स्वीकृति लिने दिने प्रयोजनका लागि मात्र लागू हुन्छ अन्य प्रयोजनका लागि सो विनियमावली लागू नहुने सोच राखिएको ।

नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम ४ मा अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना सेयरधनीको सेयर खरिदबिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था गरिए अनुसार अनुमतिपत्र प्राप्त व्यक्ति अर्थात एनसेलले कम्पनी ऐन बमोजिम खडा भएको शेयर दर्ता किताब र सेयर लगतमा देखिएको आफ्नो सेयरधनी रेनोल्ड वा सुनिभेराले अन्य कुनै तेस्रो व्यक्तिलाई सेयर बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको स्वीकृति लिनु पर्ने निष्कर्षमा पुगेको ।

अनुमतिपत्र व्यक्तिको शेयर धारण गर्ने विदेशी कम्पनीको शेयर धारण गर्ने कम्पनी (अफसोर कम्पनी) को सेयर दर्ता किताब र सेयर लगतमा एनसेलको पहुँचै नहुने र त्यस्तो सेयर कारोवारको जानकारी पनि एनसेललाई नहुने हुनाले स्वीकृति लिन सक्ने अवस्था नभएको हुनाले ऐन, नियम र विनियमको समन्वयात्मक व्याख्या गर्दा एनसेलले कम्पनी ऐन बमोजिम खडा भएको आफ्नो शेयर दर्ता किताब र सेयर लगतमा उल्लेख भएको आफ्नो सेयरधनी (रेनोल्ड) को सेयर खरिदबिक्री वा नामसारी गर्नु पूर्व मात्र प्राधिकरणको स्वीकृति लिनु पर्ने भन्ने कानूनको बुझाई रहेको निष्कर्षका आधारमा अघि बढेको देखिन्छ ।

एनसेलको सेयरधनी रेनोल्ड होल्डिंगको शेयर खरिदबिक्रीको कारोवार टेलिया सोनेरा र आजियाटा युकेका बीच यस अघि २०७२।१२।२९ मा भएको थियो । सो कारोवार भएपश्चात यस्तो विदेशमा हुने कारोवारलाई नेपालको कानूनबाट कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा विधायिकाले आफ्नो विवेक र बुद्धिमत्ता प्रयोग गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १९ मा विदेशी लगानीको अनुमति दिने निकायमा यस्तो कारोवारको जानकारी गराई कारोवारको अभिलेख गराउने व्यवस्था गरेकोबाट पनि स्वीकृति लिनु पर्ने होइन केवल जानकारीसम्म दिनु पर्ने तथ्य पुष्टी भएको ।

सारमा भन्नुपर्दा कम्पनी ऐन, २०६३ को दफा ४६ बमोजिम खडा भएको एनसेलको सेयरधनी दर्ता किताबमा जनिएको सेयरधनीले एनसेलको चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढीको शेयर खरिदबिक्री गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनु पर्ने प्रयोजनका लागि मात्र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ बनेको सन्दर्भमा हालको सेयर कारोवार एनसेलको शेयरसँग सम्बन्धित नभई एनसेलको सेयरधनी विदेशी लगानीकर्ता कम्पनीको सेयर दुई विदेशी कम्पनीहरुका बीच विदेशी कानून बमोजिम विदेशमा नै कारोवार भएको र त्यस्तो विदेशीकर्ता कम्पनीको सेयर नेपालमा दर्ता नामसारी हक हस्तान्तरण समेत नहुने हुन नसक्ने हुनाले त्यस्तो सेयर खरिदबिक्रीका सम्बन्धमा स्वीकृति लिनु पर्ने अवस्था विद्यमान नभएको ।

Share News