सरकारको आम्दानी बढ्यो, यी हुन् राजश्व बढेका शिर्षक

<p>काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आम्दानी बढाएको छ । सरकारले आयकर, मूल्य अभिवृद्धि कर, ब्याजकर र शिक्षा सेवा कर शिर्षकबाट गर्ने आम्दानी गत आवको तुलनामा वृद्धि भएको आन्तरिक राजस्व विभागले जनाएको हाे । सरकारले गत आवमा ४ खर्ब ७९ अर्ब ७९ करोड ९४ लाख ३५ हजार राजस्व आम्दानी गरेको थियो । जुन सरकारको लक्ष्यको [&hellip;]</p>

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आम्दानी बढाएको छ । सरकारले आयकर, मूल्य अभिवृद्धि कर, ब्याजकर र शिक्षा सेवा कर शिर्षकबाट गर्ने आम्दानी गत आवको तुलनामा वृद्धि भएको आन्तरिक राजस्व विभागले जनाएको हाे ।

सरकारले गत आवमा ४ खर्ब ७९ अर्ब ७९ करोड ९४ लाख ३५ हजार राजस्व आम्दानी गरेको थियो । जुन सरकारको लक्ष्यको ७६.५७ प्रतिशत थियो । चालु आवको ६ महिनामा भने २ खर्ब ४२ अर्ब ६२ करोड ७३ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, गत आवको सोही अवधिमा भने सरकारले २ खर्ब २१ अर्ब ७५ करोड ४६ लाख १ हजार रुपैयाँ संकलन गरेको थियो ।

विभागले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा २१ अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ । तर, अन्तःशुल्क, घरबहाल र स्वास्थ्यकर मार्फत हुने आम्दानी भने गत आवको तुलनामा घटेको विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार गत आवको ६ सरकारले आयकर मार्फत जम्मा ९७ अर्ब ५१ करोड ८६ लाख २५ हजार रुपैयाँ संकलन गरेकोमा चालु आवको समीक्षा अवधिमा सो शिर्षकमा १ खर्ब १५ अर्ब २१ करोड ४३ लाख ९१ हजार रुपैयाँ संकलन गर्न सफल भएको देखिन्छ । जुन गत आवको ६ महिनाको तुलनामा १८ अर्बले बढी हो । आर्थिक वर्षमा ०७९/८० मा सरकारले आयकर मार्फत कूल २ खर्ब १३ अर्ब ६० करोड ४६ लाख ५९ हजार संकलन गरेको थियो ।

त्यस्तै, चालु आवमा सरकारले ब्याजकर मार्फत १८ अर्ब ८९ करोड ८२ लाख ३० हजार रुपैयाँ संकलन गरेको छ, गत आवको सोही अवधिमा सो शिर्षकमा १६ अर्ब ८० करोड ८२ लाख ५ हजार मात्रै संकलन भएको थियो । गत आवको तुलनामा चालु आवमा सरकारले ब्याजकर मार्फत २ अर्ब बढी संकलन गर्न सफल भएको देखिन्छ । गत आवमा सरकारले ब्याजकर मार्फत कूल ३२ अर्ब ९२ करोड १० लाख ८८ हजार रुपैयाँ संकलन गरेको थियो ।

शिक्षा सेवा कर मार्फत चालु आवको ६ महिना अवधिमा सरकारले १ अर्ब ५८ करोड ७५ लाख ९० हजार रुपैयाँ संकलन गरेको छ, गत आवको सोही अवधिमा सरकारले सोही शिर्षकमा ७३ करोड ६७ लाख १० हजार रुपैयाँ संकलन गरेको थियो । चालु आवको ६ महिनाको अवधिमा सरकारले शिक्षा तर्फको करमा ८५ करोड बढी कर संकलन गरेको छ । गत आवमा सरकारले शिक्षा सेवाकर मार्फत कूल २ अर्ब २४ लाख २ हजार संकलन गरेको थियो ।

चालु आवको ६ महिनामा सरकारले मूल्य अभिवृद्धि कर मार्फत ५५ अर्ब ३५ करोड ६० लाख ९७ हजार रुपैयाँ संकलन गरेको छ, गत आवको सोही अवधिमा सो शिर्षकमा सरकारले ५१ अर्ब १३ करोड ४ लाख ४१ हजार रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा सो शिर्षकमा सरकारले झण्डै ४ अर्ब बढी मूल्य अभिवृद्धि कर संकलन गर्न सफल भएको देखिन्छ । गत आवमा सरकारले मूल्य अभिवृद्धि कर मार्फत १ खर्ब १७ अर्ब ५२ करोड २२ लाख ५८ हजार संकलन गरेको थियो ।

अन्तःशुल्क, घरबहाल र स्वास्थ्यकर घट्यो

चालु आर्थिक वर्षको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा अन्तःशुल्क, घरबहाल र स्वास्थ्य करका शिर्षकमा सरकारको आम्दानी घट्न गएको देखिएको छ ।

चालु आवको ६ महिनाको अवधिमा सरकारले अन्तःशुल्क शिर्षकमा ४७ अर्ब ६ करोड १९ लाख ७६ हजार रुपैयाँ संकलन गरेको छ, जुन शिर्षकमा गत आवको सोही अवधिमा ५० अर्ब ५५ करोड २१ लाख १७ हजार रुपैयाँ संकलन भएको थियो । गत आवको तुलनामा अन्तःशुल्क आम्दानीमा झण्डै ३ अर्बले कमि आएको विभागको तथ्यांकले देखाएको छ । गत आवमा सरकारले अन्तःशुल्क मार्फत कूल १ खर्ब ३ अर्ब ९५ करोड ९४ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आवमा सरकारले घरबहाल कर मार्फत १ अर्ब १६ करोड ५७ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ, गत आवको सोही अवधिमा सरकारले घरबहाल कर मार्फत १ अर्ब २७ करोड २४ लाख ६२ हजार रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा सरकारले घरबहाल कर भने ११ अर्बले कम आम्दानी गरेको छ । गत आवमा सरकारले घरबहाल कर मार्फत कूल ३ अर्ब ३ करोड ९३ लाख १३ हजार रुपैयाँ संकलन गरेको थियो ।

त्यस्तै, चालु आवको ६ महिनामा सरकारले स्वास्थ्य कर मार्फत ३ अर्ब ३४ करोड १२ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ, सोही शिर्षकमा गत आवको सोही अवधिमा ३ अर्ब ७३ करोड ६० लाख ४१ हजार रुपैयाँ संकलन भएको थियो । जुन आम्दानी गत आवको समीक्षा अवधिको तुलनामा ३९ करोडले कमि हो । गत आवमा सरकारले स्वास्थ्य सेवा कर मार्फत कूल ६ अर्ब ७६ करोड २ लाख ५५ हजार राजस्व संकलन गरेको थियो ।

Share News