
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरूले आपत्ति जनाएका छन् । महानगरको पार्किङ रोक्ने निर्णय विरुद्ध आपत्ति जनाउँदै व्यवसायीहरू आन्दोलित भइ सडकमा उत्रिएका हुन् ।
महानगरले चालेको यो कदम उपयुक्त नभएको भन्दै न्युरोडका व्यवसायीहरू सटर बन्द गरेर सडकमा उत्रिएका हुन् । पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर बिस्तारै तंग्रिन लागेको न्युरोडको व्यापार व्यवसायमा नकारात्मक असर गर्ने उनीहरूले बताएका छन् ।
ताम्राकार व्यापार संघको संस्थापक अध्यक्ष जगत साउदले तत्काल पार्किङ सञ्चालनमा ल्याउनु पर्ने बताए । महानगरले काठमाडौं टावरमा पार्किङ गर्नको लागि ठाउँ तोकिदिएको छ । तर, त्यहाँ पार्किङ गरेर न्युरोडमा पार्किङ गर्न कोही पनि नआउने उनको भनाई छ ।
‘न्युरोडमा व्यापार गर्न थालेको १६/१७ वर्ष भयो, पहिलाबाट नै यहाँ पार्किङको समस्या थियो, तर व्यवस्थित तरिकाले नै यहाँ पार्किङ भइरहेको थियो,’ उनले प्रश्न गर्दै भन्छन्, ‘यहाँ पार्किङ भएन भने यहाँको सामान किन्न को आउँने ? त्यसैले यहाँ पार्किङ पुन: सञ्चालन गर्न आवश्यक छ ।’
महानगरले पहिलाको जसरी नै न्युरोडमा पार्किङ सञ्चालन नगरे व्यवसायी दिनहुँ आन्दोलन गरिरहने पनि साउदले बताए । उनले हालको पार्किङ हटाए पनि सवारी पार्किङ गर्नको लागि नजिकै नयाँ विकल्प दिनुपर्ने पनि बताए ।

न्युरोडमा एक लाइन पार्किङ गर्दा कसैलाई फरक नपर्ने उनको धारणा छ । ‘देशभरको ६० प्रतिशत व्यापार न्युरोडबाट हुन्छ, यहाँ सडकमै पार्किङ हुँदा सवारी चालकलाई कुनै पनि समस्या छैन, पार्किङ खुल्ला नभएसम्म हाम्रो विरोध जारी छ,’ उनले भने ।
यस्तै, राष्ट्रिय व्यापार संघका कोषाध्यक्ष केदारप्रसाद न्यौपाने पार्किङ न्युरोडमा नभए व्यवसायमा ठूलो गिरावट आउँने बताउँछन् । उनका अनुसार वैकल्पिक उपाय दिएर तत्काल पार्किङको व्यवस्थापन गर्नुपर्छ ।
‘बिहान सवारी लिएरै हामी न्युरोड आएका थियौं, यहाँ पार्किङ गर्न नपाएपछि घरमा सवारी राखेर पठाओमा चढेर आए,’ उनले भने ।