हामीसँग ३३.९९ प्रतिशत तरलता छ, भ्रमको पछि नलाग्नु होला : सहकारी बैंक

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफुसँग ३३.९९ प्रतिशत तरलता रहेकोले ढुक्क रहन आग्रह गरेको छ । अर्थतन्त्रमा देखिएको पछिल्लो अवस्थालाई चित्रण गर्दै सहकारी बैंकको विषयमा पनि भ्रमपूर्ण सूचनाहरु बाहिरिएको बताउँदै बैंकले त्यस्ता भ्रमपूर्ण सूचनाको पछि नलाग्न पनि आग्रह गरेको हो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसंग सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी भइरहेको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफुसँग ३३.९९ प्रतिशत तरलता रहेकोले ढुक्क रहन आग्रह गरेको छ । अर्थतन्त्रमा देखिएको पछिल्लो अवस्थालाई चित्रण गर्दै सहकारी बैंकको विषयमा पनि भ्रमपूर्ण सूचनाहरु बाहिरिएको बताउँदै बैंकले त्यस्ता भ्रमपूर्ण सूचनाको पछि नलाग्न पनि आग्रह गरेको हो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसंग सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी भइरहेको बताउँदै बैंक र बैंकको नेतृत्वको विषयमा सम्प्रेषण भइरहेको भ्रमपछि नलाग्न देशभरका सदस्य सहकारी संघसंस्था, नियामकीय निकाय, तथा सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गरेको हो । बैंकले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो ।

यस्तो छ विज्ञप्ति:

सहकारी क्षेत्रमा नेपाल राष्ट्र बैंक समेतको नियमनमा रही नियमनकारी निकायका निर्देशनहरु पूर्ण रूपमा पालना गर्दै संस्थागत सुशासन सहित सञ्चालित राष्ट्रिय सहकारी बैंक लिमिटेड सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा केन्द्रीत रहदै आएको छ । सहकारीहरुको संस्थागत विकास र वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष के. बी. उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार र त्यसका आधारमा हुने गरेका चर्चाहरुको पछि नलाग्न तथा बैंकको बारेमा सत्य तथ्य बुझेर धारणा बनाउनु हुन सम्पूर्ण सहकारी संघ, संस्था, सहकारीकर्मी एवम् सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

बैंकका ५ वटा सदस्य सहकारी संस्थाहरु एकिकरण हुँदा साविकको सदस्य संस्था हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बैंकको कर्जा रकम रु २८ करोड रहेको र बैंकको नीति बमोजिम सबै सहकारीको एकल कर्जा सीमा भित्रै रहेको अवस्थामा एकिकरण भएका सबै संस्थाले लिएका कर्जाको कूल रकम एक अरब नजिक रहन पुगेको हो । सहकारी विभागले सम्बन्धित संस्थाहरुले नै बैंकको कर्जा सिमा भित्र ल्याउने योजनाका साथ एकीकरण गर्न अनुमति दिएको र बैंकको नीति अनुसार आगामी तिन वर्षभित्र एकीकृत संस्थाले कर्जालाई सिमा भित्र ल्याउनु पर्ने व्यवस्था रहेको समेत जानकारी गराउँदछौं ।

नेपाल राष्ट्र बैंक एवं सहकारी विभागसमेतको निर्देशन अनुसार बैंकले आफ्ना सम्पूर्ण वित्तीय विवरणहरु सार्वजनिक गर्दै आएको छ, जसबाट बैंकको अवस्थाको बारेमा जानकारी लिन सकिन्छ । कोभिड -१९ तथा रुस र युक्रेनवीचको युद्धले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र प्रभावित भएसँगै सहकारी संस्थामा तरलता अभाव भई सिर्जित समस्याले सहकारी क्षेत्र प्रति संसय पैदा भएको हामी सबैलाई सर्वविदितनै छ । पछिल्लो समय विस्तारै अर्थतन्त्र चलायमान भई तरलता संकटको अवस्थामा क्रमशः सुधार हुँदै गएको यो विषम परिस्थितिमा मिति २०८० असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको तरलताको अवस्था ३६.९९ प्रतिशत कायम रहेको छ ।

बैंकमा दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहनु भएका श्री के.बी. उप्रेतिले विगतमा १५ वर्षसम्म बैंकको प्रबन्ध सञ्चालक (महाप्रबन्धकको जिम्मेवारी हेर्ने गरी) पदमा, पटक–पटक राष्ट्रिय सहकारी बिकास बोर्डको विज्ञ सदस्यको पदमा र राष्ट्रिय सहकारी महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकको पदमा रही कार्य सम्पन्न गर्नुका साथै हाल उक्त महासंघको सञ्चालक पदमा समेत कार्यरत हुनुहुन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नु भएका यस बैंकका अध्यक्ष बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत  ”सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८०” को विज्ञ सदस्य (वित्त विश्लेषक) पदमा गत बैंशाखमा नेपाल सरकार (विभागीय मन्त्रिस्तर) को निर्णयानुसार नियुक्त हुनु भएको हो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारदेखि सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी भैरहेको सन्दर्भमा देशभरका सदस्य सहकारी संघ /संस्था, नियामकीय निकाय तथा सम्पूर्ण सरोकारवालाको विश्वासबाट सञ्चालित बैंकलाई लक्षित गरी भएका विभिन्न गतिविधिहरुबाट भ्रममा नपर्न सम्पूर्ण सहकारीकर्मी एवम् सरोकारवालाहरुमा अनुरोध गर्दछौ । देश भरका सहकारी संघ/ संस्थाको विश्वास, साथ र सहयोगद्वारा स्थापित एवम् सञ्चालित यस बैंकलाई विगतमा भै साथ/सहयोग दिनुहुनेछ भन्ने पूर्ण विश्वास सहित सम्पूर्ण सरोकारवालामा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Share News