काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको मर्जरलाई जोड दिएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त संस्थाहरुले मर्जर सम्झौता गरी २०८१ असार मसान्तसम्म एकीकृत कारोबार गरेमा सेवा सुविधा दिने भएको हो ।
‘२०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने छ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ । यसअघि गत वर्षको पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने संस्थाले मात्रै यस्तो सुविधा पाएका थिए ।
राष्ट्र बैंकले समय थप गरेसँगै २०८१ असारसम्म मर्जरमा जान लघुवित्त संस्थाहरुलाई राहत मिलेको हो ।
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ।