
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न तीन कम्पनीको करिब ४ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको एकैदिन कूल ३ करोड ९२ लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको हो ।
जसमध्ये इस्टर्न हाइड्रोको ६२ लाख कित्ता सेयर सूचिकृत भएको छ । यससँगै दोश्रो बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता न्यूनतम ७२.३३ रुपैयाँदेखि अधिकतम २१६.९९ रुपैयाँबीचमा हुने छ । जसको स्टक सिम्बोल ‘ईएचपीएल’ निर्धारण गरिएको छ ।
त्यस्तै, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ् रेञ्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ तोकिएको छ । यससँगै दोश्रो बजारमा कम्पनीको सेयर ‘पीएचसीएल’ को सिम्बोलबाट किनबेच हुनेछ ।
त्यसैगरी, लघुवित्त समूह अन्तर्गतको श्रृजनशील लघुवित्त वित्तीय संस्थाको १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको छ । दोश्रो बजारमा कारोबारको लागि नेप्सेले कम्पनीको ओपनिङ्ग रेञ्ज न्यूनतम ३०२ देखि अधिकतम ९०६ रुपैयाँसम्म तोकिदिएको छ । यससँगै बजारमा कम्पनीको सेयर ‘एसएचएलबी’को स्टक सिम्बोलबाट किनबेच हुने छ ।
यी तीनवटै कम्पनीको सेयर भोलिदेखि दोश्रो बजारमा किनबेच हुने छ ।