
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बैंकको नीति परिवर्तन गर्नुपर्न बताएका हुन् ।
उनले कृषि कर्जाका नाममा जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए । यस्तो अवस्था अन्त्य गर्नका लागि बैंकको नीति बदल्नु पर्ने मन्त्री शर्माले बताए ।
नीतिहरु देशको आवश्यकताका आधारमा विकास र विस्तार गर्नुपर्ने धारणा उनले राखे । वित्तीय क्षेत्रले सर्वसाधारण जनताको विश्वास जित्नु पर्ने उनले बताए ।
‘कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छु, यसका लागि बैंकको नीति बदल्नु पर्छ, देशको आवश्यकताका आधारमा नीतिहरु विकास र विस्तार गर्नुपर्छ, सर्वसाधारण जनताको विश्वास जित्ने गरी वित्तीय क्षेत्रले काम गर्नुपर्छ,’ उनले भने ।
उनले निक्षेपको सुरक्षाको अभिभारा पूरा गर्नु पर्ने आवश्यकता रहेको बताए । साउन १ गतेदेखि ५ लाख रुपैयाँको निक्षेप सुरक्षण कायम गरिएको मन्त्री शर्मा बताउँछन् । धितो नभएका तथा साना किसानलाई लगानी गरेको कर्जाको जोखिम सुरक्षण आवश्यक रहेको उनले बताए । सरकारी संस्थानमा भएको रकमले लघुवित्त कोष स्थापना गर्नुपर्ने उनको भनाइ छ ।
‘बिनाधितो ऋण भइरहेकोले यसको कार्यभार बढेको छ, जोखिम व्यवस्थापन सँगै अनुशासनमा अगाडि बढ्न जरुरी छ, लघुवित्त कोषमा सरकारी संस्थानमा भएको रकम लगानी गर्नु पर्छ, मिटरब्याजले सर्वसाधारण संकटमा परेका छन्, सहुलियत ऋण सर्बसाधारणमा पुर्याउनु पर्छ,’ उनले भने ।
बैंकहरुले सानालाई लगानी गर्न झन्झट भएकाले अब लघुवित्त संस्थाले मात्रै सानालाई लगानी गर्नुपर्ने उनको धारणा छ । लघुवित्तको कोषमा भएको रकम अप्रयाप्त भएपनि लगानी बढाएर आयात प्रतिस्थापन गर्न सहज हुने अर्थमन्त्री शर्माले अपेक्षा गरेका छन् ।