काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने बताएका छन् ।आईतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् ।
उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए ।
अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरुमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताए । उनले नेपाली युवाहरुले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताए ।
अध्यक्ष गोल्यानले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गरे । उनले सरकार तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्नेगरी नीतिगत काम गर्न भने नसकेको गुनासो गरे ।
अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने उनले बताए । उनले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपाल भित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गरे ।
अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताए । सबै नेपालीले नेपाली लगाऔं नेपाली खाऔं अभियान चलाउनुपर्ने उनी बताउँछन् ।