काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शोधान्तर स्थिति निरन्तर घाटामा छ । यद्यपि पछिल्लो केही महिनामा भने सुधारको संकेत देखिएको छ ।
अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा चालु खाता रु.६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।
समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई रु.९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई रु.१८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ५१ करोड रहेको थियो ।