
काठमाडौं । बैंकर्सको रुपमा सफल व्यक्ति अरु व्यवसायमा असफल हुन सक्छन् । यस्ता उदाहरणहरु बेलाबखत प्रकट भइरहेको हुन्छ ।
नबिल बैंकले शुक्रबार प्रकाशित गरेको ‘ऋण कर्जा चुक्ता भुक्तान गर्ने ३५ दिने सूचना’मा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतको नाम पनि छ ।
नबिलले अमरसिद्धि ह्याच प्रा.लि.को नाममा ३५ दिने सूचना जारी गरेको छ । त्यसका सञ्चालक र जमानतकर्तामा कृष्णकुमार भट्टराई, प्रयागराज काफ्ले, राजेन्द्र कुमार श्रेष्ठ र चेतना घिमिरे छन् । घिमिरे भ्याली काेल्ड स्टाेरका सञ्चालक कृष्ण प्रसाद घिमिरेकी छाेरी हुन् । अमरसिद्धि ह्याचले कुखुराकाे दाना उत्पादन गर्दै अाएकाे छ ।
त्यसमध्ये भट्टराई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपाल राष्ट्र बैंकले समस्याग्रत घोषणा गरेपछि गोर्खा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका भट्टराईले धेरै वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा काम गरेका थिए । त्यतिबेला उनलाई धेरैले राम्रो बैंकर्सको रुपमा नाम लिन्थे ।
त्यसअघि मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका, नेपाल विकास बैंकर्स संघको अध्यक्ष, प्रदेश सांसद हुँदै सूदुरपश्चिम प्रदेशको अर्थमन्त्री भएको झपट बोहारालाई पनि एक बैंकले कर्जा तिर्न ३५ दिने सूचना जारी गरेको थियो । त्यसअघि राष्ट्र बैंकका पूर्व गभर्नर तथा नविल बैंकका पूर्व अध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठ पनि कर्जा तिर्न नसकेर कालोसूचिमा परेका थिए ।
कर्जा तिर्न बैंकले ३५ दिने सूचना प्रकाशित गर्नु ऋण आर्थिक संकटमा परेको अवस्था हो भने कालोसूचिमा परेपछि बैंकबाट कर्जा लिन, सार्वजनिक पद धारण गर्न पाइदैन । कतिपय अवस्थामा सार्वजनिक सेवा लिन पनि निषेध गरिएको हुन्छ ।