काठमाडौं । सन २००६ का नोवेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनूसले शुन्य गरिबी, शुन्य वेरोजगारी र शुन्य हरितगृह ग्याँस उत्सर्जन अर्थात तीन शुन्यकोे बाटो अवलम्बन नगरे मानवजातिले ठुलो संकट खतराको सामना गर्नु पर्ने धारणा राखेका छन् । यसका लागि अहिलेको पूँजी प्रधान आर्थिक प्रणालीको पूनःसंरचना गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने खालको आर्थिक प्रणाली लागु गर्नु पर्ने उनको धारण छ । अब सामाजिक व्यवसायको अवधारणा अनुरुप अघि बढ्नुपर्ने उनले बताए । बताएका छन् ।
११औं सामाजिक व्यवसाय दिवसका अवसरमा २०७८ आषाढ १६ गते अनलाईन जुम माध्यमबाट आयोजित नेपाल फोरमलाई विशेष सम्बोधन गर्दै प्रोफेसर युनूसले यस्तो धारणा राखेका हुन ।
यस ११औं सामाजिक व्यवसाय दिवसको मुख्य सन्देश नो गोइङ व्याक अर्थात हिजोको दिनमा बेरोजगारी सिर्जाना गर्ने, गरिबी बढाउने र हरितगृह ग्याँसको उत्सर्जनबाट बस्न अयोग्य बनाउने विश्व तर्फ पुनः नफर्कने भन्ने मुल सन्देशका रहेको छ ।
नेपाल फोरमको विशेष वक्ताको रुपमा आमन्त्रित प्रोफेसर मोहम्मद युनूसले सम्वोधन गरेका थिए । कोरोना महामारीले विभेद र खतराहरु पैदा गर्ने हिजोको आर्थिक प्रणालीको पुनःसंरचना गर्ने महत्वपूर्ण अवसर दिएकोले यसलाई अवसरमा बदल्नु पर्ने प्रोफेसर युनूसको धारणा छ ।
“हामीले विश्वलाई गरिबी, बेरोजगारी र कार्वन रहित बनाउनतर्फ लाग्नु पर्छ । त्यसको यात्रा आजैबाट शुरु हुनुपर्छ । सबै आ–आफ्नो तर्फवाट अघि वढ्नु जरुरी छ । यसका लागि हामीसंग जे छ त्यो लिएर अघि बढौँ र अरुलाई पर्खने समय छैन” युनूसको भनाई थियो ।

यो संगै युनूसले अब युवा पुस्तालाई पनि विश्वका यस्ता असमानता तथा ठूला समस्याबारे जागरुक र सचेत बनाउन थ्री जीरो क्लवकोे शुभारम्भ गरेको जानकारी गराएका छन् । यूनुसका अनुसार यस थ्री जीरो क्लव अवधारणा अनुसार १२ देखि ३५ बर्ष उमेर समूहका युवाहरुलाई नेतृत्व पंङतीमा राखेर उनीहरु संग भएको उर्जा तथा प्राविधिक क्षमतालाई समुन्नत विश्व वनाउन उपयोग गर्ने रहेको छ ।
सो अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति शंकरमान श्रेष्ठले ११औं सामाजिक व्यवसाय दिवसको अवसरमा पहिलोे पटक नेपाल फोरम आयोजना गरेको र यसले हामीलाई पनि गरिबी निवारण, शुन्य वेराजगारी र शुन्य कार्वन उत्सर्जनको पथमा अघि वढ्न घच्घच्याएको र प्रोफेसर यूनुसको उपस्थितीले यसमा उर्जा दिएको वताए । साथै श्रेष्ठले गरीबी , वेरोजगारी र हरितगृह ग्यासले उत्पन्न गरेको भयावह परिणाम मानवजातिको लागि विकराल समस्याको रुपमा अगाडी आएकोले यसको समाधान गरी विश्वलाई सम्बृद्धशाली वनाउन साझा प्रयास गर्नु पर्ने वताए । “हामीसंग समस्याहरुको समाधान गर्नको लागि स्रोत र साधनको साथै ज्ञान र सीपहरु पनि छन् । आर्थिक स्रोत पनि पर्याप्त छ तर हामीमा संस्कार र संकल्पको कमि छ । त्यसैले संस्कार र संकल्पका साथ हामी संग भएको क्षमता प्रदर्शन गर्नु जरुरी छ” श्रेष्ठले थपे ।
फोरमले विश्वका तीन ठूला समस्या शुन्य गरिबी, शुन्य वेराजगारी र शुन्य हरितगृह ग्यास उत्सर्जन र सो अन्तर्गत १० बटा उप शिर्षकहरुमा छलफल गरेको थियो । छलफल पछि आगामी दुई बर्ष भित्र कार्यान्वयन गर्ने गरी कार्ययोजना समेत बनाएको छ । सोही कार्ययोजना २०७८ आषाढ २० गते बंगलादेशको यूनुस सेन्टरले आयोजना गर्ने अन्तर्राष्ट्रिय साझा फोरममा पनि प्रस्तुत गरिने छ । कार्यक्रममा आर्थिक, सामाजिक, शिक्षा, वातावरण, महिला युवा तथा अन्य विभिन्न क्षेत्रका ३ सय ६६ जनाकाे सहभागिता रहेको थियो ।