काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म २१६ बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ चैत मसान्तसम्म कुल २१६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।
यसमध्ये १६४ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन् । यस्तै, कुल ७५३ स्थानीय तह मध्ये २०७७ चैतसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ चैतसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ चैत मसान्तमा १४० रहेको छ ।
यस मध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ रहेकोमा २०७७ चैत मसान्तमा १०,५४६ पुगेको छ ।