काठमाडाैं । अहिले धेरै सञ्चार माध्यमहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विषयलाई लिएर धेरै समाचारहरु प्रकाशन तथा प्रसारण भइरहेका छन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेशकाे प्रस्ताव ल्याउने वित्तिकै नेकपा समुहमा तहल्का मच्चिएको हाे ।
सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी समूहका मन्त्रीहरुको छुट्टै बैठक बसेको पनि बुझिएको छ । बैठकमा ओलीले एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेपछि पूर्वमाओवादी समूहका मन्त्रीहरु एकाएक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाइ भेट्न खुमलटार पुगेकाे बताइएकाे छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद–६ को दल त्यागसम्बन्धी प्रावधानमा यस्तो लेखिएको छ–‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’
अध्यादेशमा ‘केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा’ भन्ने पदावलीको सट्टामा ‘केन्द्रीय समिति वा संघीय संसदको संसदीय दलमा’ भनिएको छ । ‘र’ लाई हटाएर ‘वा’ बनाइएको छ । यो एक अक्षरको संशोधनपछि अब केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुगे पनि संसदीय दलमा ४० प्रतिशत पु¥याएर पार्टी फुटाउन सकिने भएको छ ।
मन्त्रिपरिषद बैठकबारे प्रचण्डलाई मन्त्रीहरूले बिफ्रिङ गरेपछि आजै साँझ प्रचण्ड निवासमा पूर्वमाओवादी बीच बैठक बसेकाे पनि बुझिएकाे हाे ।
याे सँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक पनि बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सचिवालय बैठक बोलाइएको हो ।