
काठमाडौं। भारतको क्वारेन्टाइनमा आमाको किरिया बसेका दार्चुलाका बासुदेव भट्ट स्वदेश पुगेका छन् । उनी आज नेपाल आएका हुन् । स्थानीय प्रशासनको समन्वयमा दत्तुस्थित झोलुङ्गे पुलको ढोका खोली उनलाई आज दिउँसो नेपाल प्रवेश गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।
उनको जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण पश्चात १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नेगरी घरमै व्यवस्था मिलाइएको पौडेलले बताए। मजदुरीका लागि भारत छिरेका भट्ट लकडाउनका बेला नेपाल आउन खोजेका थिए। तर, सीमा नाका सिल गरिएका कारण उनी नेपाल आउन नपाएपछि बलुवाकोटको महाविद्यालय क्वारेन्टाइनमा बसेका थिए।
दुई साताभन्दा लामो समयदेखि भारतीय भूमिमा क्वारेन्टाइनमा बसेका भट्टकी आमाको ३ वैशाखमा घरमा निधन भएपछि उनी फर्किन खोजेका थिए। तर, अनुमति दिइएको थिएन।