काठमाडौं । कोरोनाको महामारी फैलिएका देशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सर्वाेच्चले अन्तरिम आदेश जारी गरेको छ ।
विश्वमा कोरोनाको संक्रमण बढ्दै गएपछि वैदेशिक रोजगारमा रहेका नेपालीको अवस्थालाई ध्यानमा राख्दै न्यायधीश सपना प्रधान मल्लको एकल इजलासले सो आदेश जारी गरेको हो ।
वैदेशिक रोजगारमा रहेका धेरै नेपाली विदेशी भूमिमा कोरोनाको त्रास एवंम महिनौं देखि रोजगार समेत गुमाई, अत्यन्त जोखिम अस्वस्थ, असुरक्षित अवस्थामा रहेका नेपालीलाई समान ढंगले आफ्नो देश आउन पाउने हकमा समेत असर पर्न गएको भन्दै प्रश्न उठाएका छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम स्वास्थ्य सेवा/भेदभाव रहित उपचारको व्यवस्था मिलाउन परराष्ट्रमार्फत कूटनीतिक पहल गर्न सर्वाेच्चले आदेश दिएको छ ।
कोरोनाको कहर फैलिएको मुलुकहरुमा वैदेशिक रोजगारीमा रहेका नेपालीको नागरिकको नेपाली राजदूतावास वा श्रम सहचारीमार्फत कोरोना संक्रमित नेपालीको स्वास्थ्य अवस्था प्रतिवेदन तत्कालै तयार गर्न निर्देशन जारी गरेको हो ।
नेपालको संविधानको धारा १६ ले सम्मानपूर्ण तरिकाले बाच्न पाउने हक साथै संविधानको धारा १८ ले नागरिकबीच आर्थिक, सामाजिक, शैक्षिकलगायत राज्यले प्रदान गर्ने जुनसुकै हकको सुनिश्चितता गरिएको छ ।


