काठमाडौं । मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” (लभ) भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७ औं स्थापना दिवस भाद्र १९ गते मनाउदैछ । यस अवसरमा देशभरीका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन ।
केन्द्रीय मूल कार्यक्रमको रुपमा भोली विहान शुभेच्छा, सम्मान, पुस्कार तथा प्रतिभा प्रदर्शनका साथै रक्तदान कार्यक्रमको आयोजना गरिदैछ । यस अवसरमा फोटो प्रतियोगिता, फूटवल, चेसलगायतका खेलकुद प्रतियोगिता, सरसफाई कार्यक्रम सम्पन्न भैसकेका छन् ।
२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पुर्याउँदै आएका छन् ।
यस वर्षको मूल विषय “माया” अर्थात् (लभ) रहेको छ । यसले रेडक्रसका स्वयंसेवक एवं कर्मचारीहरुको सेवा भाव, त्याग र समर्पण संकेत गर्दछ । स्मरण रहोस् संसारमा प्रेममय भावनाको विकास गराउने उद्देश्यले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसि) स्थापनाको १०० वर्ष पुगेको अवसर पनि यसै वर्ष परेको छ । सो सन्दर्भमा विश्वभर रेडक्रसका १ करोड १७ लाख स्वयंसेवकहरुले गरेको मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउन यस दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि ऐक्यवद्धता जनाउँदछ ।
मानवीय सेवमा नेपाल रेडक्रस सोसाइटी देशको अग्रणी संस्था हो । विपद्का बेला तत्काल उद्धार तथा राहत, रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत नेरेसो समुदायको संकटासन्नता कम गर्न देशका सवैजसो समुदायमा पुगिरहेको छ ।
विपद् तथा संकटजन्य अवस्थाहरु पश्चात् गरिने पुनर्लाभलाई सुदृद्ध गर्न, अझ बढी सुरक्षित, उत्थानशील र स्वस्थ समुदायको प्रबद्र्धन गर्न, सामाजिक सामावेशीकरण तथा अहिंसा एवं शान्तिको संस्कारको प्रवद्र्धन गर्न र संकटासन्नताको न्यूनीकरण गर्न सबै पक्षको सद्भाव, सहयोग, समन्वय र सहकार्यको लागि हामी आव्हान गर्दछौँ ।
कानुनी आधार सुदृढीकरण गर्दै संस्थाका सवै निकायहरुमा जनशक्ति, बन्दोबस्ती र व्यववस्थापकीय क्षमता अभिबृद्धि गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, रेडक्रसको दृश्यात्मकता र छविलाई सवै तहमा अभिबृद्धि गर्ने, आन्तरिक स्रोत परिचालनलाई वढावा दिई संस्थागत दीगोपना सुनिश्चिित गर्ने र बदलिँदो परिस्थितिमा मानवीय चुनौती कम गर्न सरकार, साझेदार निकाय, विश्व रेडक्रस अभियान र सञ्चारजगतसंगको सहकार्य बढाउँदै अझ जिम्मेवार भई समुदाय संगसँगै कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।