
काठमाडौं । कारोबारको अन्तिम घण्टामा बजारमा खरिदकर्ताहरु उत्साहित देखिएपछि शेयर बजार परिसूचक नेप्सेमा उच्च सुधार देखिएको छ । साताको तेस्रो दिन मंगलबार भएको कारोबारमा बजारको समग्र परिसूचक नेप्से २०.५७ अंकले बढेर ११९०.९० विन्दुमा पुगेको हो ।
मंगलबार परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएर ५१ करोड पुगेको छ ।
शुक्रबार अन्य समूह र म्युचुअल फण्ड समूह बाहेकका सबै समूहहरुमा सुधार देखिएको छ । हाइड्रोपावर, जीवन र निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको परिसूचक २ प्रतिशत भन्दा बढीले बढेको छ ।
मंगलबार कारोबार भएका १७१ स्क्रिपहरुमध्ये १९ स्क्रिप घट्दा १५ ओटा स्क्रिपको मूल्य बराबर हुँदा १३७ स्क्रिपका मूल्यहरु बढेका छन् । युनिभर्सल पावर कम्पनीको शेयरमा सर्किट लाग्नुबाहेक अन्य कम्पनीहरुको उल्लेख्य वृद्धि नभए पनि समग्र बजारमा उच्च सुधार हुनुलाई विगतमा निरन्तरको घट्दो मूल्यको रिकभरीको रुपमा हेरिएको छ ।
सोमबारमात्रै सीडीएससीले परीक्षणको रुपमा भारित औसत लागत गणना सुरु गर्नाले पनि लगानीकर्तामा केही उत्साह मिलेको लगानीकर्ताहरु बताउँछन् ।