
काठमाडौँ । आगामी साता एशिया–प्यासिफिक क्षेत्रका देशहरुमा रहेका केन्द्रीय निक्षेप प्रणाली र राफसाफ सम्बन्धी संस्थाहरुको सेमिनार काठमाडौमा हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको आयोजनामा एशिया प्यासिफिक सेन्ट्रल सेक्युरिटी डिपोजीटरी ग्रुप (एसीजी) को मा आवद्ध संस्थाहरुको सेमिनार हुने भएको हो । उक्त सेमिनार सेप्टेम्बर ९ देखी १२ तारिखसम्म काठमाडौंको होटल सोल्टीमा संचालन हुनेछ ।
सो सेमिनारका क्रममा सेप्टेम्बर १० तारिखका दिन संस्थाको साधारणसभा समेत हुनेछ । सो कार्यक्रममा संस्थामा आवद्ध एशिया प्यासिफिक क्षेत्रका २६ देशका ३५ वटा संस्थाहरुको सहभागिता हुने सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । २/२ वर्षमा हुने उक्त साधारण सभाले आगामी २ वर्षको लागि संस्थाको नेतृत्व समेत चयन गर्नेछ । हाल संस्थाको नेतृत्व कोरियाको कम्पनीले गरिरहेको छ ।